अमेरिकी दबाबपछि इजरायल–हमास वार्ता निर्णायक चरणमा

काठमाडौं।करिब दुई वर्षदेखि जारी इजरायल–हमास द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावमा दुवै पक्ष सहमत भएपछि युद्धविराम सम्झौता अन्तिम रूप दिनका लागि इजरायल, हमास र अमेरिकी प्रतिनिधिमण्डलहरू इजिप्टको राजधानी कायरोतर्फ प्रस्थान गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैलाई युद्धविराम योजनामा सहमत हुन तीव्र दबाब दिइरहेका छन्। उनले इजरायलले प्रारम्भिक फिर्ताको रेखामा सहमति जनाइसकेको र हमासले पनि अनुमोदन गरे युद्धविराम “तत्काल प्रभावकारी” हुने बताएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा पोष्ट गरेको नक्सा अनुसार, इजरायली सेनाहरू सबै ४८ बन्धकहरू मुक्त भएपछि दक्षिणी गाजामा ६.५ किमी, मध्य गाजामा २ किमी र उत्तरी गाजामा ३.५ किमी भित्र रहनेछन्। यो नक्सा जुलाईमा प्रस्तावित सीमाभन्दा इजरायली नियन्त्रण रेखा अझ गहिरो भएको देखिन्छ, जसमा हमासको असहमति सम्भावना देखिएको छ।
यसबीच, इजरायलले बमबारी “अस्थायी रूपमा रोकेको” अमेरिकी दाबीका बाबजुद शनिबार मात्र गाजामा कम्तीमा ६७ जनाको मृत्यु भएको छ, जसमा ४५ जना गाजा सहरमा रहेका थिए। स्थानीय अधिकारीहरूले अत्यावश्यक सेवाहरू, विशेषगरी पिउने पानीको अभाव र लगातार बमबारीका कारण जनजीवन कष्टकर भएको बताएका छन्।
सीएनएन समाचारका अनुसारगाजा युद्धविराम वार्तामा इजरायलको प्रतिनिधित्व रणनीतिक मामिला मन्त्री रोन डर्मरले गर्नेछन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विश्वासपात्र डर्मरले बन्धक फिर्ता र सुरक्षा व्यवस्थाबारे छलफल गर्न उच्चस्तरीय टोलीको नेतृत्व गर्नेछन्।
हमासले पनि शनिबार साँझ आफ्ना प्रतिनिधिहरू कायरो पठाएको पुष्टि गरेको छ। इजिप्टले यससँगै “अन्तर-प्यालेस्टिनी वार्ता” आयोजना गर्ने तयारी गरेको छ, जसमा गाजाको युद्धपछिको राजनीतिक भविष्यबारे छलफल हुनेछ।
अमेरिकाले वार्ताका लागि विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनरलाई पठाएको छ। राष्ट्रपति ट्रम्पले भने, “यदि हमास सहमत भयो भने, युद्धविराम तुरुन्तै लागू हुनेछ र बन्धक–बन्दी आदानप्रदान सुरु हुनेछ।”
यसैबीच, लन्डनमा प्रतिबन्धित समूह प्यालेस्टाइन एक्शन लाई समर्थन गरेको आरोपमा करिब ५०० प्रदर्शनकारी पक्राउ परेका छन्। मानवअधिकार समूहहरूले यो कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भनेर आलोचना गरेका छन्।
गाजा युद्धविराम वार्ता २०२३ को हमास आक्रमणको दुई वर्षपछि निर्णायक मोडमा पुगेको छ। तेल अवीवमा हजारौं इजरायलीहरू बन्धक मुक्तिको मागसहित सडकमा उत्रिएका छन्, जसले आगामी दिनहरूमा सम्झौता सफल हुने आशा बढाएको छ।