महानवमी पर्व आज : देशभर दुर्गा भवानीको विशेष पूजाआराधना
काठमाडौं । दशैँको नवौँ दिनका रूपमा मनाइने महानवमी पर्व आज देशभर विशेष पूजा–आराधनासहित मनाइँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा नवदुर्गा भगवतीको विशेष पूजासँगै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्रको पाठ गरिन्छ।
महानवमीका दिन घटस्थापनादेखि राखिएको जमरा विभिन्न शक्तिपीठ र देवीस्थानमा लगी चढाउने प्रचलन छ। राजधानीस्थित दशैँघर, कोतघर र विभिन्न देवी मन्दिरमा विशेष पूजासहित बलि दिने परम्परा यस दिन अझै पनि कायम छ। बोका, राँगा, कुखुरा र हाँसको बलिसहित दुर्गा भवानीलाई प्रसन्न तुल्याउने चलन प्राचीनकालदेखि निरन्तरता पाएको हो।
यद्यपि, सबै समुदायले पशुबलि दिने गर्दैनन्। शाकाहारी भक्तजनले भने यस दिन कुभिण्डो, काँक्रो, घिरौँला, मूला र जटा नरिवलको बलिसहित खीर (पायस) अर्पण गर्ने गरेका छन्। धेरै ठाउँमा महाष्टमीमा बलि दिने र महानवमीमा मार हान्ने प्रथा पनि प्रचलित छ।
महानवमीलाई दशैँ पर्वको धार्मिक उत्कर्षको दिनका रूपमा लिइन्छ। यस दिन देवी दुर्गाको आराधनासँगै असत्य र अन्यायको अन्त्य भई सत्य, धर्म र सदाचारको स्थापना हुने विश्वास गरिन्छ।
देशभरका शक्तिपीठ, मठमन्दिर र घरआँगनमा बिहानैदेखि पूजा–आराधना, बलि र भक्ति–भावनापूर्वक चहलपहल बढेको छ। भक्तजनहरूले महानवमीलाई आस्थापूर्वक मनाउँदै दुर्गा भवानीको शक्तिसँग आशीर्वाद लिने परम्परा निरन्तरता दिइरहेका छन्।
