आर्यतारा शाक्य नयाँ कुमारी, विधिवत् रुपमा आसन ग्रहण

तु खबर संवाददाता
२०८२ आश्विन १४, मंगलवार १४:५१

काठमाडौं । नयाँ कुमारीका रूपमा इतुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई सिंहासनमा विराजमान गराइएको छ। शाक्य महाविहार संघले सहरका १५ बहालबाट योग्य बालिकाको नाम सिफारिस गरेपछि निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिले आर्यतारा शाक्यलाई कुमारीका रूपमा छनोट गरेको हो।

आज मध्याह्नको शुभसाइतमा विधिविधानसहित कुमारी घर प्रवेश गराई उनलाई कुमारीको आसन ग्रहण गराइएको छ। विशेष बाजागाजासहितको कार्यक्रममा आर्यतारालाई जीवित देवीका रूपमा प्रतिष्ठित गरिएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइएको थीयो।

कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ र पूजाआजाका माध्यमबाट जीवित देवीका रूपमा सम्मान गरिन्छ। काठमाडौँ उपत्यकामा कुमारी प्रथा एक जीवन्त र महत्त्वपूर्ण सांस्कृतिक परम्परा मानिन्छ, जसअन्तर्गत बालिकालाई तलेजु भवानीको प्रतीकका रूपमा पूजा गरिन्छ।