प्रधानमन्त्री कार्कीको विजयादशमी सन्देश :दशैंमा टिका नलगाउने घोषणा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादशैंमा–२०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । उनले आफ्नो शुभकामना सन्देशमा मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा सबैलाई आह्वान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले यसवर्षको दसैंमा आफूले टिका नलगाउने र अरुलाई पनि नलगाइदिने घोषणा गरेकी छन् । उनका अनुसार हालै सम्पन्न युवापुस्ताको अभूतपूर्व आन्दोलनमा धेरै युवाले ज्यान गुमाएकाले शोकप्रति संवेदनशील रहँदै यस्तो निर्णय लिएकी हुन् ।
उनले शुभकामना सन्देशमार्फत सरकार तोकेकै मितिमा निर्वाचन सम्पन्न गर्न कटिबद्ध रहेको र सुशासन कायम गर्न सरकार जिम्मेवार रहने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले भनेकी छन्, “समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा सबैलाई अपिल गर्दछु।”
उनले संसारभर छरिएर रहेका नेपालीभाषी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना समेत व्यक्त गरेकी छन् ।

