इजरायली आक्रमणमा गाजाको सबैभन्दा ठूलो अस्पताल घेराबन्दी, सयौं बिरामी संकटमा

तु खबर संवाददाता
२०८२ आश्विन १३, सोमबार ११:४०

काठमाडौं । इजरायली सेनाले गाजा सहर कब्जा गर्ने क्रममा गाजाको सबैभन्दा ठूलो मेडिकल कम्प्लेक्स अल–शिफा अस्पताल वरिपरि तीव्र आक्रमण थालेपछि सयौं बिरामी, चिकित्सक र स्वास्थ्यकर्मी जीवन–मरणको सङ्घर्षमा परेका छन्।

अस्पतालका निर्देशक डा. हसन अल–शायरका अनुसार कम्तीमा १०० बिरामी अत्यन्तै कठिन परिस्थितिमा उपचाररत छन्, तर औषधि र आवश्यक उपकरण अभावले थप चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ। उनले “कठोर अवस्था र अत्यधिक डर” बीच पनि स्वास्थ्यकर्मीहरू उपचारमा खटिन बाध्य रहेको बताए।

प्यालेस्टिनी वाफा समाचार एजेन्सीले उद्धृत गरेको स्रोतअनुसार, इजरायली ट्याङ्कहरूले अस्पताललाई घेरेर प्रवेश–निर्गमन मार्ग अवरुद्ध गरेका छन्। फलस्वरूप डाक्टर, नर्ससहित ९० जनाभन्दा बढी अस्पतालभित्रै फसेका छन्। यसैबीच, क्यान्सर वार्ड र नवजात शिशु इकाईमा समेत आक्रमण हुँदा १२ समयपूर्व शिशुहरूको जीवन उच्च जोखिममा परेको बताइएको छ।

यसैक्रममा, गाजा सहरका रेमाल, साबरा, बन्दरगाह क्षेत्र र बेरुत स्ट्रीटमा इजरायली सेनाले खाली गर्ने धम्की दिएपछि मक्का टावरसहितका बहुमंजिला भवनमा पनि बमबारी भएको छ।

प्यालेस्टिनी सेन्टर फर ह्युमन राइट्सका अन्वेषकहरूले इजरायलले ‘फायर बेल्ट’ जस्ता आगजनी हतियार प्रयोग गरेको पुष्टि गरेका छन्। अस्पताल वरिपरि विस्फोटक पदार्थयुक्त सवारीसाधनहरू तैनाथ गरिएको र उत्तरी तथा पूर्वी दिशाबाट सैनिक इकाईहरू अघि बढिरहेको बताइएको छ।

गत केही हप्तादेखि मात्र कम्तीमा ५० भन्दा बढी बहुमंजिला भवन ध्वस्त पारिएको छ। एक समय हजारौं मानिस बसोबास गर्ने सम्पूर्ण ब्लकहरू समतल पारिँदा गाजा सहर अभूतपूर्व मानवीय संकटमा परेको छ।