वर्षा–पहिरोका कारण देशभरका ५ सडक पूर्ण अवरुद्ध, ४ सडक एकतर्फी सञ्चालन
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेपछि प्राप्त विवरणअनुसार पाँच सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने चार सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।
सङ्खुवासभामा भोटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवामा गएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण अवरुद्ध भएको छ । यस्तै, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने पुल भत्काउँदा गल्छी–मैलुङ सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण अवरुद्ध भएको छ भने रुकुम पूर्व, भूमे गाउँपालिका–४ काँडाबगरमा गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग समेत बन्द भएको प्रहरीले जनाएको छ ।
यसरी कोशी राजमार्ग, नेपाल–चीन नाका जोड्ने पुलसहितको सडक, नारायणगढ–मुग्लिन सडकखण्ड र मध्यपहाडी लोकमार्ग गरी चार राजमार्ग पूर्ण रूपमा अवरोधमा परेका छन् ।
त्यसैगरी गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु सडक, कालीगण्डकी करिडोर र नवलपरासीस्थित पूर्व–पश्चिम राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन् ।
नेपाल प्रहरीले यात्रा गर्नु पूर्व सडक अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

