अन्तरिम मन्त्रिपरिषद् विस्तार : चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ

तु खबर संवाददाता
२०८२ आश्विन ६, सोमबार १५:३०

काठमाडौँ । अन्तरिम मन्त्रिपरिषद् विस्तारअन्तर्गत चार नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।

शपथग्रहण गर्ने मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार रहेका छन्। सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना मन्त्रालय र परियारले कृषि मन्त्रालयको शपथ लिएका छन्।

यसअघि अर्थ मन्त्रालयमा रामेश्वर खनाल, ऊर्जामन्त्रालयमा कुलमान घिसिङ र गृहमन्त्रालयमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्। अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस भएको थियो।

सोमबार सम्पन्न शपथग्रहणसँगै अन्तरिम सरकारको मन्त्रिपरिषद् थप मजबुत बनेको छ।