रसियाको ठूला हवाई आक्रमणपछि युरोपमा उच्च सतर्कता

तु खबर संवाददाता
२०८२ आश्विन ४, शनिबार १९:०२

काठमाडौं । रसियाले युक्रेनमा पोल्याण्डसँगको पश्चिमी सिमानासम्म लक्षित ठूला हवाई आक्रमण गरेपछि युरोप उच्च सतर्कतामा गएको छ। शनिबार बिहानै पोल्याण्ड र नाटो सहयोगी लडाकु विमानहरू आकाशमा उडाइएका थिए।

पोल्याण्ड सेनाले आफ्नो हवाई क्षेत्रमा रूसी लामो दूरीका विमान गतिविधि देखिएपछि “ड्युटी लडाकु जोडी स्क्र्याम्बल” गरिएको र वायु रक्षा प्रणाली उच्च सतर्कतामा पुगेको जनाएको छ।

युक्रेनी वायुसेनाका अनुसार रसियाले एकै रातमा ५७९ ड्रोनसहित ८ ब्यालेस्टिक र ३२ क्रुज मिसाइल प्रहार गरेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस आक्रमणलाई नागरिकहरूलाई आतंकित पार्ने र पूर्वाधार नष्ट गर्ने “जानाजानी रणनीति” भनेका छन्। आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र ३२ जना घाइते भएका छन्।

सीएनएन समाचारका अनुसार यसअघि शुक्रबार, नाटोले एस्टोनियाली हवाई क्षेत्रमा पसेका तीन रूसी मिग–३१ विमानहरूलाई रोकेको थियो। एस्टोनियाले यसलाई “अभूतपूर्व निर्लज्ज उल्लङ्घन” भन्दै नाटो अनुच्छेद–४ अनुसार आपतकालीन परामर्श माग गरेको छ।

हालैका दिनहरूमा रूसी ड्रोनले पोल्याण्ड र रोमानियाली हवाई क्षेत्र समेत उल्लङ्घन गरेका घटनापछि नाटोले आफ्नो पूर्वी भागमा सुरक्षा बल अझ कडा बनाएको छ।

उता, जेलेन्स्कीले अर्को साताको संयुक्त राष्ट्र महासभा न्यूयोर्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट हुने जनाएका छन्। भेटमा युक्रेनका लागि दीर्घकालीन सुरक्षा ग्यारेन्टीबारे छलफल हुने बताइएको छ।