क्षति भएका संरचना पुर्ननिर्माण गरी छिट्टै सेवा प्रवाहलाई नियमित गर्ने मुख्यमन्त्री बानियाँको घोषणा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केही दिन अघिको आन्दोलनमा भएको क्षतिको पुर्ननिर्माण गरी दैनिक सेवा प्रवाहलाई यथासिघ्र नियमित गर्ने बताएका छन् ।
संविधान दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । घाइतेहरुको उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने समेत मुख्यमन्त्री बानियाँले जानकारी दिएका छन् ।
मुख्यमन्त्री बानियाँले आन्दोलनका क्रममा सार्वजनिक र व्यक्तिको सम्पत्तिको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दैै नेपालको संविधान नेपाली जनताको लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको स्मरण गराएका छन् ।
सो संविधानबाट आर्जित महत्वपूर्ण उपलब्धीको रक्षाका निम्ति संविधानको सफल कार्यान्वयन आवश्यक रहेको बानियाँले बताए । प्रदेश सरकारलाई मितव्ययी बनाई नागरिकलाई अधिकतम सेवा सुविधा प्रदान गर्न प्रदेश सरकार अन्तरगतका सवै निकायका फजुल खर्च कटौती गर्ने प्रकृया सुरू भइसकेको जानकारी दिँदै मुख्यमन्त्री बानियाँले डिजिटल युग र नयाँ पुस्ताको सोच बमोजिम सेवा प्रवाह र निर्णय प्रकृयालाइ छिटो छरितो र परिणाममुखी बनाउने तयारी आफूले गरेको समेत बताए ।
आगामी फागुनमा निर्वाचन घोषणा भइसकेकोले सो निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने समेत मुख्यमन्त्रीको भनाइ थियो ।



