ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय
काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो ऐतिहासिक मुद्दामा दोषी ठहरिएका छन्। सर्वोच्च अदालतको पाँच न्यायाधीश प्यानलमध्ये चारजनाले उनलाई सबै पाँचवटा अभियोगमा दोषी ठहर गर्दै २७ वर्ष ३ महिनाको जेल सजाय सुनाउने पक्षमा मतदान गरेका हुन्।
बोल्सोनारोमाथि २०२२ को चुनावलाई उल्टाउने उद्देश्यसहित कू षड्यन्त्र गर्ने, सशस्त्र आपराधिक संगठनमा संलग्न हुने, बल प्रयोग गरेर लोकतान्त्रिक व्यवस्थालाई खारेज गर्ने, राज्यका संस्थाविरुद्ध हिंसात्मक गतिविधि गर्ने तथा २०२३ जनवरी ८ मा समर्थकहरूले सरकारी भवनमा आक्रमण गर्दा सार्वजनिक सम्पत्ति नष्ट गराउने दोष प्रमाणित भएको हो।
अभियोजन पक्षले आरोप लगाएको थियो कि बोल्सोनारोको योजनामा तत्कालीन निर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, उनका उपराष्ट्रपति जेराल्डो अल्कमिन र सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्डर डे मोरेसको हत्या गर्ने समेत षड्यन्त्र समावेश थियो। सम्भावित रूपमा विस्फोटक, युद्धका हतियार वा विष प्रयोग गरेर उनीहरूलाई निशाना बनाउने तयारी भएको अभियोग लगाइएको छ।
सीएनएन समाचारका अनुसार संघीय प्रहरीले पनि बोल्सोनारोलाई चुनावी नतिजा उल्ट्याउन सेनामा दबाब दिने, सरकार चलाउन समानान्तर “संकट व्यवस्थापन कार्यालय” सिर्जना गर्ने प्रयासको पूर्ण जानकारी रहेको प्रमाण पेश गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीश मोरेसले सबै अभियोग प्रमाणित भएको ठहर गर्दै दोषी ठहर गर्ने पहिलो न्यायाधीश बनेका थिए। न्यायाधीश फ्लाभियो डिनो, कारमेन लुसिया र क्रिस्टियानो जानिनले पनि सो निर्णयमा समर्थन जनाएका छन्।
यसैसँग, ब्राजिलको राजनीतिक इतिहासमा पूर्व राष्ट्रपतिको विरुद्धको सबैभन्दा ठूलो आपराधिक मुद्दामा बोल्सोनारो दोषी ठहरिएका छन्।
