जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४, एक हजार ३६८ घाइते
काठमाडौं । शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न अस्पतालबाट संकलित तथ्यांकमा यो संख्या पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ३६८ जना घाइते भएका छन् । तीमध्ये ३२१ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल तथा बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोड्ने प्रयास गर्दा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीहरूको आरोप अनुसार सो क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका धेरैलाई उद्धार गरी अस्पताल पुर्याइएको भए पनि केहीले बाटैमा ज्यान गुमाएका थीए भने भने केहीको उपचारका क्रममा निधन भएको छ ।


