शान्तिपूर्ण आन्दोलनमा अत्याधिक बल प्रयोग गरिएकोमा काँग्रेस बागमतीको निन्दा
हेटौंडा । जेन जी पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट अत्याधिक बल प्रयोग गरिएकोप्रति नेपाली काँग्रेस बागमती समितिले निन्दा गरेको छ भने आन्दोलनका क्रममा जीवन गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरिएको छ ।
जेन जी आन्दोलनमा अराजक तत्वहरु प्रवेश गरी हिंसात्मक गतिविधि गराएको भन्दै नेपाली काँग्रेस बागमती प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बागमती प्रदेश समितिका सभापति एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक विज्ञप्ती जारी गर्दै जेन जी पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा अराजक र उच्छृङ्खल तत्व प्रवेश गरेको उल्लेख छ ।
शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी अराजक तत्त्वहरूले सभापति देउवाप्रति गरेको अमानवीय व्यवहार र निवासमाथिको आक्रमणप्रति खेद प्रकट गरिएको छ ।
नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै कांग्रेसले आफ्ना पार्टी पङ्क्ति, भ्रातृ तथा शुभेच्छुक संस्था र आम नागरिकलाई समेत आन्दोलनको नाममा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सचेत रहन र त्यस्ता गतिविधिलाई निस्तेज पार्न सक्रिय हुन आह्वान समेत गरेको छ ।
