सुनधारा कारागारबाट टोपबहादुर रायमाझीसहित हजारौँ कैदी फरार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी समेत सुनधारास्थित कारागारबाट भागेका छन्। उनीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि फरार भएको स्रोतले जनाएको छ।
भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको पुष्टि भएको छ। उनीहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा खेप्दै कारागारमा थिए।
स्रोतका अनुसार, भागेकामध्ये केही कैदीबन्दी भने स्वयं कारागार फर्किन थालेका छन्। हालसम्म करिब ५० जना कैदी फर्किसकेका छन् भने अझै केही फर्कने क्रममा रहेको बताइएको छ।
सुनधारास्थित कारागारबाट मात्रै ३ हजारभन्दा बढी कैदी फरार भएका छन्। कारागारमा रहेका ३ हजार ८०० भन्दा बढी कैदीमध्ये अहिले करिब ५ सय मात्र कैदीभित्र रहेका छन्।
यसअघि नक्खु कारागारबाट रवि लामिछानेसहित सबै कैदी बाहिर निस्किएको जानकारी पाएपछि सुनधाराका कैदीहरूले पनि प्रदर्शन सुरु गरेका थिए। त्यसै क्रममा ठूलो संख्यामा कैदी फरार भएका हुन्।
