सरकारी डिजिटल डाटा सुरक्षित रहेको दावी
काठमाडौं । सिंहदरबारभित्र रहेका विभिन्न सरकारी निकायका डिजिटल तथ्यांक (डाटा) सुरक्षित रहेको पाइएको छ । केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरे पनि एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) अन्तर्गत हेटौँडामा रहेको डिजास्टर रिकभरी (डीआर) कार्यालयमार्फत प्रायः सबै सरकारी डाटाको ब्याकअप सुरक्षित भएको छ ।
आईडीएमसीका कार्यालय प्रमुख मनिष भट्टराईका अनुसार हेटौँडास्थित डीआर कार्यालय पूर्ण सुरक्षित छ र त्यहाँ रहेका डाटामा कुनै असर परेको छैन । उनले हाल बजारमा फैलिएका ‘हेटौँडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा नष्ट भएको’ हल्ला पूर्णतः असत्य भएको स्पष्ट पारे ।
“अन्य डाटा सेन्टरमा क्षति पुगेको भए पनि हामीसँग प्रायःको ब्याकअप हुन्छ,” भट्टराईले भने । उनका अनुसार सर्वोच्च अदालतसहितका महत्त्वपूर्ण निकायका डाटाको ब्याकअप हेटौँडास्थित डीआरमा सुरक्षित छ ।
आन्तरिक राजस्व विभाग (आईआरडी), राहदानी विभाग र अध्यागमन विभागले आफ्नै डाटा सेन्टर सञ्चालन गरे पनि आईडीएमसीअन्तर्गत ब्याकअप राखिएकाले ठूलो क्षति भए पनि रिकभरी गर्न सकिने अवस्था छ ।
यद्यपि, हालैको आगजनीका कारण सर्वोच्च अदालतका केही डाटा प्रभावित भएको र त्यसको रिकभरीका लागि आईडीएमसीसँग औपचारिक ताकेता गरिएको भट्टराईले जानकारी दिए ।
