नयाँ बानेश्वरमा प्रहरीको गोली प्रहार
काठमाडौं । नयाँ बानेश्वरमा भ्रष्टाचारविरुद्ध उत्रिएका जेन–जी पुस्ताका युवाहरू र प्रहरीले बीच भिडन्त चर्किएपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ ।
प्रदर्शन उग्र बनेपछि प्रशासनले तत्काल कर्फ्यू आदेश जारी गरेको छ । संसद भवनको दुई नम्बर गेट भत्काउँदै प्रदर्शनकारी भित्र छिरेपछि अवस्था नियन्त्रण बाहिर जान थालेको थियो । भिड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको हो ।
संसद भवनको मुख्य गेटसम्म पुगेका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै भ्रष्टाचारविरुद्ध कडा सन्देश दिएका थिए । केही प्रदर्शनकारी संसद भवनभित्र प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर बाहिर निकालेको थियो ।
हाल नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल जारी छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
