रुसद्वारा युक्रेनमाथि सबैभन्दा ठूलो हवाई आक्रमण

तु खबर संवाददाता
२०८२ भाद्र २२, आईतवार १९:३२

काठमाडौं । रुसले आइतबार राति युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । युक्रेनी वायुसेनाका अनुसार मस्कोले ८१० ड्रोनसहित चार ब्यालेस्टिक र नौ क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । धेरैजसो हवाई प्रतिरक्षाद्वारा नष्ट गरिए पनि ५४ ड्रोन र नौ क्षेप्यास्त्र युक्रेनभरका लक्ष्यमा प्रहार भएका छन् ।

११ घण्टासम्म चलेको हवाई आक्रमणका क्रममा राजधानी कीभमा आवासीय भवनमा प्रहार हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ, जसमा एक शिशु पनि छन् । युक्रेनभर चार जनाको मृत्यु र ४४ जना घाइते भएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

कीभमा पहिलोपटक सरकारी भवनसमेत आक्रमणमा परेका छन् । प्रधानमन्त्री युलिया स्भिरिडेन्कोका अनुसार प्रधानमन्त्रीको कार्यालय र केही मन्त्रालय रहेको भवनको छत र माथिल्लो तलामा क्षति पुगेको छ । संसद भवन नजिकै र राष्ट्रपतिको कार्यालयसँगै रहेको सरकारी क्वार्टरमा आगो लागेको र उद्धारकार्य जारी रहेको उनले जानकारी दिइन् ।

सीएनएन समाचारका अनुसार जेलेन्स्कीले यो आक्रमणलाई “नीच अपराध” भन्दै “विश्वसँग राजनीतिक इच्छाशक्ति भए मात्र क्रेमलिनलाई रोक्न सकिन्छ” भनेका छन् । यसैबीच, युक्रेनी प्रधानमन्त्रीले आक्रमणलाई “ठूलो हमला” भन्दै कीभसँगै क्रिभि रिह, डिनिप्रो, क्रेमेन्चुक र ओडेसा शहरमा पनि क्षति भएको जनाएका छन् ।

युक्रेनी रक्षामन्त्री डेनिस स्मिगलले हवाई प्रतिरक्षालाई सुदृढ पार्ने र रुसको इलाकामा गहिरो प्रतिआक्रमण गर्ने क्षमताबारे छलफल गर्न आगामी हप्तामा बैठक आयोजना गरिने बताए । युक्रेनले सोही रातमा रुसको ब्रायान्स्क र क्रास्नोडार क्षेत्रका दुई ऊर्जा केन्द्रमा पनि आक्रमण गरेको दाबी गरेको छ ।

यसअघि, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सम्भावित पश्चिमी शान्ति सेनालाई “वैध लक्ष्य” हुने चेतावनी दिएका थिए । पश्चिमी देशहरूले युद्धविरामका लागि हालै शान्ति पहल अघि सारेको अवस्थामा यो आक्रमण भएको हो ।