आज निजामती सेवा दिवस मनाइँदै
काठमाडौं । भदौ २२ गते अर्थात आज आइतबार २२औँ निजामति सेवा दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।
निजामती सेवासम्बन्धी ऐन पहिलोपटक विक्रम संवत् २०१२ भदौ २२ गते जारी भएको स्मरणमा २०६१ सालदेखि प्रत्येक वर्ष यो दिवस मनाउने परम्परा सुरु भएको हो । मुलुकको स्थायी सरकारका रूपमा रहेका करिब ८५ हजार निजामति सेवाका कर्मचारीका लागि यो दिवस उत्सव र कदरको अवसरका रूपमा लिइने गरिएको छ ।
यस अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामति सेवाले प्रविधिमैत्री, नागरिक–केन्द्रित र छरितो सेवा प्रणालीमार्फत छिटो, सरल र पारदर्शी सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार उत्कृष्ट कार्यसम्पादनका माध्यमबाट निजामति सेवाले देश विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने धारणा नागरिकस्तरमै रहेको छ ।
दिवसकै अवसरमा राजधानीमा आयोजित मूल समारोहमा प्रधानमन्त्रीको प्रमुख आतिथ्य रहनेछ ।र कार्यक्रममा वर्षभर उत्कृष्ट कार्य गर्ने एक जनालाई ‘सर्वोत्कृष्ट निजामति’ उपाधि दिइनेछ भने १० जनालाई ‘उत्कृष्ट निजामति’ र ३० जनालाई ‘निजामति पुरस्कार’ प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
निजामति सेवा दिवसलाई मूल्य–मान्यता, आदर्श, चरित्र, नैतिकता, सदाचार र निष्ठाका गुण स्मरण गर्दै नागरिक सेवाप्रति प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिइने गरिएको छ ।



