राष्ट्रपति ट्रम्पले पेन्टागनलाई युद्ध विभाग को रूपमा पुनः ब्रान्ड गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

तु खबर संवाददाता
२०८२ भाद्र २१, शनिबार ०९:४७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पेन्टागनलाई “युद्ध विभाग” को रूपमा पुनः ब्रान्ड गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान विश्व परिस्थितिलाई ध्यानमा राख्दा यो नाम “उचित” हुने बताएका छन्।

“हामीसँग संसारकै सबैभन्दा बलियो सेना छ। अहिलेको अवस्थाले यो नामलाई अझ उपयुक्त बनाउँछ,” ट्रम्पले आदेशमा हस्ताक्षर गर्नु अघि भने।

सीएनएन समाचारका अनुसार आदेशले रक्षा सचिव पीट हेगसेथसहित विभागका उच्च अधिकारीहरूलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार र कार्यकारी कागजातमा “युद्ध सचिव”, “युद्ध विभाग” तथा “युद्धका उपसचिव” जस्ता माध्यमिक पदनाम प्रयोग गर्न अधिकार दिएको छ।

हेगसेथले नाम परिवर्तनलाई “सिर्फ पुनः नामकरण होइन, पुनर्स्थापना” भएको टिप्पणी गर्दै भने, “सेना केवल रक्षा गर्न मात्रै होइन, आक्रमण गर्न पनि जान्छ। यो कदमले देशलाई केवल रक्षक होइन, योद्धा बनाउनमा जोड दिन्छ।”

कार्यकारी आदेशअनुसार, सबै विभाग तथा एजेन्सीहरूले आन्तरिक र बाह्य सञ्चारमा नयाँ नाम प्रयोग गर्नुपर्नेछ। साथै, अमेरिकी रक्षा विभागलाई स्थायी रूपमा “युद्ध विभाग” नामकरण गर्न आवश्यक विधायकीय पहलका लागि सुझाव दिने जिम्मेवारी हेगसेथलाई दिइएको छ।

यद्यपि तथ्य पानाले यसलाई स्थायी बनाउन काँग्रेसको सहयोग अपरिहार्य हुने उल्लेख गरेको छ, ट्रम्पले भने यसबारे अनिश्चितता व्यक्त गर्दै भने, “मलाई थाहा छैन, तर हामी पत्ता लगाउनेछौं।”

यसअघि १९४९ मा राष्ट्रपति ह्यारी ट्रुमनको पहलमा युद्ध विभागलाई पुनः संरचना गरेर “रक्षा विभाग” नामकरण गरिएको थियो।