नेकपा एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ। बिहानैदेखि महाधिवेशन स्थलमा सहभागी प्रतिनिधि, पर्यवेक्षक र अतिथिहरूको चहलपहल देखिएको छ। एमाले कार्यकर्ताहरूले साँस्कृतिक झाँकीसहित सहभागीहरूको स्वागत गरेका छन्।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। शनिबार प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि छलफल गरिनेछ भने आइतबार समूहगत सुझाव प्रस्तुत गरिनेछ।
महाधिवेशनमा २३४१ जना सहभागी भएका छन्। जसमध्ये २०२६ जना प्रतिनिधि र ३१५ जना आयोजक सदस्य छन्। यसपटक प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिएको छ भने गोदावरी पुग्ने मुख्य सडकका ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ।
महाधिवेशन स्थलसम्म सवारी साधनको प्रबन्ध गरिएको भए पनि आवास सुविधा भने छैन। मूल सडकदेखि सभा हलसम्म स्वयंसेवकहरूले सहभागीहरूको व्यवस्थापन गरिरहेका छन्। पार्किङ सुविधा पनि मूल सडक छेउमै मिलाइएको छ।
मञ्च सजावटमा वायाँतर्फ पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ भने दायाँतर्फ कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्बिर राखिएको छ। मञ्चको शिरमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन’ लेखिएको छ। त्यसको माथि सर्वोच्च शिखर सगरमाथाको प्रतीक, पार्टीको सूर्यभित्र हँसिया–हथौडा र नेपालको राष्ट्रिय झण्डा राखिएको छ।
महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।
