मनाङ प्रदेशसभा उपनिर्वाचन : भदौ १९ देखि दल दर्ता गर्न आह्वान

तु खबर संवाददाता
२०८२ भाद्र १७, मंगलवार १२:३३

काठमाडौं । गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने भएको छ। निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै भदौ १९ देखि २५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो।

आयोगका अनुसार कात्तिक १७ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निवेदन दिनुपर्नेछ। संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने जनाइएको छ।

सो उपनिर्वाचन मनाङ क्षेत्र नम्बर १ (२) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पद पूर्तिका लागि हुन लागेको हो।

निर्वाचन प्रयोजनका लागि दलहरूले आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र दल दर्ताको निवेदन पेश गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।