भारत–अमेरिका व्यापारमा बढ्दो अनिश्चितता,भारतीय निर्यातमा ठूलो धक्का

ट्रम्प प्रशासनले भारतविरुद्ध थप २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेसँगै बुधबारदेखि अमेरिकी बजारमा जाने भारतीय निर्यातमा ठूलो असर पर्न थालेको छ। यससँगै भारतका विभिन्न वस्तुहरूमा कुल ५० प्रतिशतसम्म शुल्क लागू भएको छ। लामो समयदेखि अमेरिकालाई आफ्नो प्रमुख निर्यात बजार मानेको भारतका उद्योगहरू मध्ये विशेषगरी रत्न–आभूषण, कपडा–गार्मेन्ट, अटो पार्ट्स र समुद्री खाना क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।
रत्न–आभूषण क्षेत्र भारतको ठूलो निर्यात मध्ये एक हो। गत वर्ष मात्रै करिब १० अर्ब डलर बराबरका रत्न–आभूषण अमेरिका पठाइएको थियो। तर नयाँ ट्यारिफका कारण सूरतस्थित हीरा–पालिश उद्योगमा अर्डर सुस्त भएको छ। साना निर्यातकर्ताहरू ठूलो संकटमा परेका छन् भने ठूला कम्पनीहरूले कम ट्यारिफ लाग्ने बोत्स्वानाजस्ता मुलुकतर्फ उत्पादन स्थानान्तरण गर्ने विकल्प खोजिरहेका छन्।
कपडा–गार्मेन्ट क्षेत्रमा पनि ठूलो धक्का पुगेको छ। २०२४ मा मात्र भारतले अमेरिकामा २ अर्ब डलरभन्दा बढी मूल्यका कपडा र परिधान निर्यात गरेको थियो। वेलस्पन, शाही एक्सपोर्ट्स, गोकलदासजस्ता कम्पनीहरू प्रभावित भएका छन् भने वालमार्ट, तार्गेट, कोस्टको जस्ता अमेरिकी खुद्रा कम्पनीहरूको आपूर्ति श्रृंखला अवरुद्ध भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार अटो कम्पोनेन्ट निर्यातलाइ पनि असर परेको छ। २०२४ मा भारतले करिब ६.६ अर्ब डलर बराबर मूल्यका अटो पार्ट्स अमेरिका पठाएको थियो। नयाँ भन्सारले साना गाडीका पार्टपुर्जामा २५ प्रतिशत र ठूला ट्रक तथा कृषि उपकरणका पार्टपुर्जामा ५० प्रतिशत शुल्क तोकेको छ। यसले भारत फोर्ज, मदरसन र सोना कमस्टारजस्ता ठूला निर्यातकर्ताहरूलाई सीधा असर गरेको छ।
त्यसैगरी समुद्री खाना क्षेत्र पनि गम्भीर असरमा परेको छ। भारतले गत वर्ष मात्र २.६ अर्ब डलर मूल्यको समुद्री खाना अमेरिका पठाएको थियो, जसको ४० प्रतिशत झिंगा थियो। वालमार्ट र क्रोगर जस्ता प्रमुख अमेरिकी ग्राहकहरू प्रभावित भएपछि केही झिंगा किसानहरूले व्यवसायमै पूर्ण रूपमा हात झिक्ने विचार गर्न थालेका छन्।
यद्यपि, केही क्षेत्र भने सुरक्षित छन्। स्मार्टफोन, इलेक्ट्रोनिक्स, जेनेरिक औषधि र नवीकरणीय ऊर्जा उपकरणहरूमा ट्यारिफ छुट दिइएको छ। एप्पलका लागि आईफोन उत्पादन गर्ने टाटा इलेक्ट्रोनिक्स, फक्सकन, विस्ट्रोन र पेगाट्रोनजस्ता कम्पनीहरूले आफ्नो निर्यात निरन्तर गर्न पाएका छन्। २०२४ मा मात्रै करिब ७ अर्ब डलर मूल्यका इलेक्ट्रोनिक्स भारतबाट अमेरिका पठाइएको थियो।
भारतको विदेश मन्त्रालयले ट्रम्प प्रशासनको यो कदमलाई “अनुचित र अव्यावहारिक” भन्दै आलोचना गरेको छ। अगस्ट ७ मा जारी विज्ञप्तिमा मन्त्रालयले भन्यो, हाम्रा आयातहरू बजारका कारक र ऊर्जा सुरक्षामा आधारित छन्। केवल रूसी तेल किन्ने कारण भारतलाई लक्षित गर्नु अन्यायपूर्ण हो।
यसरी ट्रम्पको नयाँ ट्यारिफ नीतिले भारत–अमेरिका व्यापारमा ठूलो अनिश्चितता निम्त्याएको छ। ।