पाँच हजार डलरभन्दा बढीमा भन्सार घोषणा अनिवार्य

काठमाडौं — नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारमा कडाइ गर्ने निर्णय गर्दै भन्सार घोषणा अनिवार्य गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार ५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा नेपालमा भित्र्याउँदा वा बाहिर लैजाँदा भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।
नयाँ नियमअनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म (वा त्यसको बराबर अन्य विदेशी मुद्रा) बिना घोषणा नेपालमा ल्याउन वा लैजान सक्नेछन्। तर सो भन्दा बढी रकम भएमा अनिवार्य रूपमा भन्सारमा जानकारी दिनुपर्नेछ।
यसैगरी, भारतीय रुपैयाँको हकमा पनि अमेरिकी डलर ५ हजार बराबरसम्मको नगद मात्र ल्याउन वा लैजान पाइनेछ। तर, भारतीय रुपैयाँ २००, ५०० र २००० का नोट साथमा राख्न, ओसारपसार गर्न वा कारोबार गर्न राष्ट्र बैंकले पूर्ण रूपमा रोक लगाएको छ।
राष्ट्र बैंकले यसअघि पनि २०७५ असार ३२, २०७५ चैत २६ र २०७५ पुस २३ मा विदेशी मुद्रा कारोबारसम्बन्धी सूचना जारी गरिसकेको थियो। सोही क्रममा सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि जारी ५०० र १००० का भारतीय नोटलाई अवैध घोषित गरिएको छ।
राष्ट्र बैंकले थप स्पष्ट गर्दै नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था यथावत रहेको जानकारी दिएको छ।