विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा, विपक्षी दलहरूको फरक मत
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित ‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदन शुक्रबार प्रतिनिधिसभामा पेस गरिएको छ ।
समितिका सभापति अम्मरबहादुर थापाले प्रतिवेदन पेस गर्दै सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक छलफलमार्फत विधेयकलाई समृद्ध बनाइएको बताउँदै आगामी दिनमा विद्यालय शिक्षामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे ।
समितिले बिहीबारको बैठकबाट विधेयक पारित गरेको थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका छन् ।
माओवादी केन्द्रले निजी विद्यालयले दिने छात्रवृत्ति उपसमितिको प्रस्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ भने रास्वपाले पूर्ण छात्रवृत्ति आवाससहितको व्यवस्था हुनुपर्ने माग गर्दै तीन बुँदे फरक मत दर्ता गरेको छ । त्यस्तै, राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रस्तावमा असहमति जनाएको छ ।
