प्रधानमन्त्री ओली अस्वस्थ, प्रश्नोत्तर कार्यक्रम स्थगित

तु खबर संवाददाता
२०८२ भाद्र ४, बुधबार १३:०६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएकाले प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था तथा परामर्श बैठकमा यसबारे जानकारी गराएका हुन् । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम तय गरिएको थियो ।

यद्यपि बैठक भने तोकिएकै समयमा बस्ने भएको छ । आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी, मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि कार्यसूचीमा रहेको छ ।