अदालतको आदेशलाई सम्मान गर्ने जसपा अध्यक्ष यादवको भनाइ

तु खबर संवाददाता
२०८२ भाद्र ३, मंगलवार १३:३७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहार प्रकरण पुनः अनुसन्धान भए आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्।

सर्वोच्च अदालतले १८ वर्षअघिको गौर नरसंहार घटनामा छानबिन अघि बढाउन आदेश दिएपछि प्रतिक्रिया व्यक्त गर्दै अध्यक्ष यादवले अदालतलाई सम्मान गर्ने र अनुसन्धान भए सहकार्य गर्ने बताए। उनले घटना भएको बेला नै सरकार, न्यायिक जाँचबुझ आयोग, मानव अधिकार आयोग र राष्ट्रसंघीय मानव अधिकार आयोगले अनुसन्धान गरी निष्कर्ष निकालेको दाबी गरे।

यादवले पुनः मुद्दा अघि बढाउनुलाई राजनीतिक उद्देश्यसहितको कदम हुन सक्ने टिप्पणी गरे। “हामी न्यायका पक्षमा खडा भएका हौँ, दोषी जसलाई देखाइएको छ उसमाथि कारबाही होस्, तर यो राजनीतिक प्रतिशोध नबनोस्,” उनले भने।

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा मधेसी जनअधिकार फोरम र माओवादीबीच भएको झडपमा २७ माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने सयभन्दा बढी घाइते भएका थिए। घाइते त्रिभुवन साहलगायतले सर्वोच्चमा रिट दायर गरेपछि अदालतले पुनः छानबिन गर्न आदेश दिएको हो।