जेलेन्स्की वाशिंगटनमा, ट्रम्पसँग ऐतिहासिक वार्ता हुँदै
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि वाशिंगटन आइपुगेका छन्। करिब १२ घण्टाभीत्र हुने द्विपक्षीय वार्तापछि उनी युरोपेली नेताहरूसँग समेत संयुक्त छलफलमा सहभागी हुनेछन्।
ट्रम्पले यसअघि नै संकेत दिएका छन् कि युक्रेनले युद्ध अन्त्यका लागि रसियासँग सहमति खोज्नुपर्नेछ, जसमा क्रिमिया सुम्पनु र नाटोमा कहिल्यै प्रवेश नगर्ने सर्तहरू पुटिनले अघि सारेका छन्। अमेरिकी राजदूत स्टीभ विटकफका अनुसार, पुटिनले युक्रेनका लागि अमेरिकी सुरक्षा ग्यारेन्टी स्वीकार्ने र भविष्यका आक्रमणहरू रोक्न “नाटो-शैली” सुरक्षा प्रबन्धमा छुट दिन तयार भएका छन्।
जेलेन्स्कीले वाशिंगटन अवतरणपछि भने, “शान्ति दिगो हुनुपर्छ,” र उनले २०१४ मा रसियाले क्रिमिया कब्जा गर्दा जस्तै गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाए। उनले नयाँ सुरक्षा ग्यारेन्टीहरू अघिल्ला भन्दा अझ बलियो हुनेमा विश्वास व्यक्त गरे।
सीएनएन समाचार अनुसार यता, बेलायत र फ्रान्सका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनमा लडाइँ बन्द भएपछि “आश्वासन बल” तैनाथ गर्न तयार रहेको घोषणा गरेका छन्। उनीहरूले अमेरिकी नेतृत्वमा बन्न लागेको सुरक्षा ग्यारेन्टीलाई स्वागत गर्दै यसमा महत्वपूर्ण भूमिका खेल्ने वाचा गरेका छन्।
ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, “ह्वाइट हाउसमा एकै पटक यति धेरै युरोपेली नेताहरू कहिल्यै थिएनन्, यो ठूलो दिन हुनेछ।”
