कुवेतमा ९ जना नेपालीको मृत्यु, १५ भन्दा बढी उपचाररत

कुवेतमा गैरकानुनी रूपमा बिक्री हुने विषाक्त मदिरा सेवनका कारण नौ जना नेपाली श्रमिकको मृत्यु भएको छ। जाब्रियास्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार, मेथनोल मिसावट गरिएको मदिरा पिएको भनिएका थप १५ भन्दा बढी नेपालीहरू विभिन्न अस्पतालमा उपचाररत छन्।
बीबीसी समाचार अनुसार विषाक्त मदिरा सेवनबाट प्रभावित हुनेहरूको संख्या १६० पुगेको छ। मृतकको संख्या २३ रहेको र अधिकांश एशियाली मुलुकका नागरिक रहेको मन्त्रालयले जनाएको छ। धेरै बिरामीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ भने भेन्टिलेटर र आपत्कालीन डायलिसिसको आवश्यकता परेको बताइएको छ।
नेपालको परराष्ट्र मन्त्रालयले घटनामा मृत्यु भएका र बिरामी परेको नेपालीहरूको अवस्थाबारे आवश्यक समन्वय र सहयोग गर्न कुवेतस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ।