एमसीसी अन्तर्गत १८० किमी प्रसारण लाइन निर्माणका लागि दुई सम्झौता
मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत विद्युत् प्रसारण आयोजना अघि बढाउन दुई वटा प्रमुख ठेक्का सम्झौता भएका छन्।
एमसीसीको स्थानीय कार्यान्वयन निकाय मिलेनियम च्यालेन्च एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग सम्झौता गरेको हो।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार ३१५ किलोमिटरको कुल प्रसारण लाइनमध्ये १८ किलोमिटरको सम्झौता गत वर्ष नै भइसकेको छ भने बाँकी ११७ किलोमिटर प्रसारण लाइनको सम्झौता केही दिनमै हुने तयारी छ।
यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४ सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ। परियोजनाको कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार करिब २१ अर्ब ६३ करोड रुपैयाँ) हुनेछ। ठेक्का अवधि ४२ महिनाको तय गरिएको छ ।
