प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता हुँदै
काठमाडौँ – चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षासँगै सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिनेछ।
प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार यस वर्ष सम्झौता गत वर्षको तुलनामा झण्डै एक महिना अगाडि हुन लागेको हो, जसले वर्षभरि गरिने काम र सम्पादनलाई छिटो र प्रभावकारी बनाउन मद्दत गर्नेछ।
‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीकै विगतको कार्यकालमा सुरु गरिएको हो।
प्रधानमन्त्रीसँग सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ।



