मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

तु खबर संवाददाता
२०८२ श्रावण २७, मंगलवार ११:२२

हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि आज दिउँसो ४ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ ।

बहादुर सिंह लामालाई नेपाली काँग्रेस संसदीय दलको नेतामा पराजीत गरेपछि सत्ताघटक नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरी सपथ खुवाएका थिए ।

सत्ता संघर्षका बेला लामाले नियुक्त गरेका तीन जना मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा समेट्न पर्ने अडान राखिरहेका छन् । यदी ती मन्त्रीहरुलाई पुनः नियुक्त गरी सपथ नखुवाउने हो भने आज बानियाँलाई विश्वासको मत नदिने बरु सामुहिक राजीनामा दिने घुर्की बहादुर सिंह लामा पक्षधरको छ । लामासित १४ जना सदस्यहरु देखिएका छन् । यसै सन्दर्भमा काँग्रेस सभापति शेर बहादुर देउवासित लामा र बानियाँले छलफल गरेका छन् ।

अहिले तत्काल बानियाँलाई विश्वासको मत दिन देउवाले निर्देशन दिएका छन् । देउवाको निर्देशनपछि लामा समूह दबाबमा छ । राजीनामा दिँदा राजनीति क्यारियरमै धक्का लाग्ने स्थिति छ भने विश्वासको मत दिँदा आफूले अन्तिम समयमा नियुक्त गरेका मन्त्रीहरुको पुनः नियुक्ति हुने स्थिति छैन ।

यद्यपी, लामा समूहले पनि बानियाँलाई विश्वासको मत दिने र बानियाँले पनि कुनै एक जनालाई मन्त्री बनाउने बताइएको छ । लामाले नियुक्त गरेका तीन जना मध्ये गोविन्द लम्साललाई मन्त्री बनाउने सोचमा मुख्यमन्त्री बानियाँ छन् ।

प्रदेशसभा सदस्य गोविन्द लम्सालले आफूहरु काठमाडौंमा रहेको बताए । तपाईलाई नै सबै कुरा थाहा छ, हामी काठमाडौंमै छौँ, उनले भने ।