हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायलमा

तु खबर संवाददाता
२०८२ श्रावण २७, मंगलवार ०९:४१

काठमाडौं — प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमणपछि नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन्। इजरायली सरकारको पहलमा उनीहरू सोमबार इजरायल प्रस्थान गरेका हुन्।

विपिनलाई मुक्त गराउन अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना गर्ने उद्देश्यले इजरायल सरकारले जोशी परिवारका सदस्यलाई झिकाएको हो। विमानस्थलमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै आमा पद्माले आँसुका बीच भनिन्, “म मेरो छोरो विपिनलाई लिन आएकी हुँ। कृपया मेरो छोरालाई मुक्त गराइदिनुहोस्।”

त्यस्तै, बहिनी पुष्पाले पनि भावुक हुँदै अपिल गरिन्, “हामी टाढाको देश नेपालबाट दुःख गरेर आएका छौं, मेरो दाजुलाई बिनासित्ती नराख्नुस्।”

इजरायली विदेश मन्त्रालयका अनुसार उनीहरूलाई प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख तथा हमासविरुद्धको कारबाहीमा संलग्न कमान्डरसँग भेट गराइनेछ। साथै, दक्षिण इजरायलको किबुजमा लगेर विपिनलाई कसरी बन्धक बनाइएको थियो भन्ने जानकारी दिइनेछ।

इजरायल सरकारको योजनाअनुसार उनीहरूलाई संयुक्त राष्ट्रसंघमा उपस्थित गराई विपिनको तत्काल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने तयारी गरिएको छ।