काठमाडौं उपत्यकामा गाईजात्रा धुमधामका साथ मनाइँदै

तु खबर संवाददाता
२०८२ श्रावण २५, आईतवार ०७:४८

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने आठ दिनको गाईजात्रा पर्व आज काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा गाईजस्तो सिँगारिएका बालबालिकालाई नगर परिक्रमा गराउने परम्परा यस पर्वको विशेषता हो।

गाईजात्राले मृतक आत्माप्रति श्रद्धा अर्पण गर्नुका साथै जीवन–मृत्युको चक्रप्रति चेतना फैलाउने मान्यता रहेको छ। यस अवसरमा हास्यव्यंग, सांगीतिक झाँकी, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छ।

पर्वको अवसरमा बाग्मती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। यससँगै बाग्मती प्रदेश सरकार मातहतका सार्वजनिक कार्यालय, संघसंस्था तथा शैक्षिक संस्था आज बन्द रहेका छन्।