गाजा पूर्ण कब्जा योजना सुरक्षा मन्त्रिपरिषद् बाट पारित , हमासको कडा आपत्ति
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले “हाम्रो सुरक्षा सुनिश्चित गर्न” गाजालाई पूर्ण रूपमा कब्जा गर्ने प्रस्ताव गरेका छन्, जसलाई इजरायली सुरक्षा मन्त्रिपरिषद्ले स्वीकृति दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। टाइम्स अफ इजरायलका अनुसार, यस योजनाअन्तर्गत गाजामा लडाइँ क्षेत्र बाहिरका नागरिकलाई मानवीय सहायता उपलब्ध गराइनेछ।
नेतन्याहूले फक्स न्युजसँग कुरा गर्दै भने, “हामी हाम्रो सुरक्षा सुनिश्चित गर्न र हमासलाई त्यहाँबाट हटाउन चाहन्छौं। अन्ततः, हामी यो क्षेत्रलाई यस्तो अरबी सेनालाई सुम्पन चाहन्छौं जसले हामीलाई धम्की नदिई गाजावासीलाई राम्रो जीवन प्रदान गर्न सकोस्।” उनले इजरायली प्रशासनले गाजामा दीर्घकालीन शासन गर्न नचाहेको स्पष्ट पारे।
योजना स्वीकृत भए पनि इजरायलका सैन्य प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले पूर्ण अधिग्रहण जोखिमपूर्ण हुने चेतावनी दिएका छन्। गाजामा अझै पनि हमासको नियन्त्रणमा रहेका करिब ५० बन्धकको मुक्तिका लागि पूर्ण कब्जा चुनौतीपूर्ण हुने इजरायली अधिकारीहरूले बताएका छन्।
हमासले नेतन्याहूको योजनालाई ‘कू’ भन्दै कडा आलोचना गरेको छ। हमासको वक्तव्यमा भनिएको छ, “नेतन्याहूको यो कदमले बन्धकहरूको ज्यानलाई जोखिममा पार्दै आफ्नो व्यक्तिगत स्वार्थ र चरमपन्थी एजेन्डालाई अघि बढाउने उनको चाहना पुष्टि हुन्छ।”
गाजामा मानवीय संकट चरममा पुगेको छ। संयुक्त राष्ट्र एजेन्सीहरूले अनिकालको चेतावनी दिएका छन्, खाद्य वितरण स्थलमा आक्रमणहरू भइरहेको छ, र हालैका हप्ताहरूमा सयौं मानिस मारिएका छन्। मे महिनामा केही समयका लागि नाकाबन्दी हटाइए पनि, गाजा अधिकारीका अनुसार भीडमा गोली चलाउने घटनाहरू निरन्तर भइरहेका छन्।
यो योजना अक्टोबर ७, २०२३ को हमास आक्रमणको पृष्ठभूमिमा आएको हो, जसमा २५० भन्दा बढी मानिस बन्धक बनाइएका थिए। धेरैजसो फिर्ता भए पनि अझै करिब ५० जना बन्धक हमासको कब्जामा रहेका छन्।
