ट्रम्पको ट्यारिफ निर्णयको भोलिपल्टै चीनको तीव्र आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा निर्यात हुने सामानमा कुल ५० प्रतिशत अमेरिकी कर लगाउने निर्णयपछि चीनको कडा प्रतिक्रिया आएको छ। ट्रम्पले भारतले रुससँग तेल व्यापार जारी राखेकै कारण २५ प्रतिशत अतिरिक्त ट्यारिफ थप गरेपछि चिनियाँ राजदूत सु फेइहोङले सार्वजनिक रूपमा ट्रम्पको आलोचना गरेका हुन्।
राजदूत सु फेइहोङले बिहीबार सामाजिक सञ्जाल एक्स मा लेखे, “धम्कीलाई एक इन्च दिनुहोस्, उसले एक माइल लिन्छ,” उनले कसैको नाम नलिइ अप्रत्यक्ष रूपमा ट्रम्पको नीति र व्यवहारप्रति संकेत गरेका थिए।
उनले थप रूपमा चिनियाँ विदेशमन्त्री वाङ यी र ब्राजिलका राष्ट्रपतिका प्रमुख सल्लाहकारबीच भएको भर्खरको टेलिफोन संवादको अंश पनि सेयर गरे। संवादमा भनिएको छ, “अन्य राष्ट्रहरूलाई दबाउन ट्यारिफ प्रयोग गर्नु राष्ट्रसंघको बडापत्रको उल्लंघन हो र यसले विश्व व्यापार संगठनका नियमहरूलाई कमजोर पार्दछ।”
अमेरिकी नीतिले भारतमा मात्र होइन, चीन र अन्य निर्यात-आधारित राष्ट्रहरूमा पनि ठूलो प्रभाव पार्न सक्ने विश्लेषकहरूको चेतावनी छ। ब्लूमबर्ग इकोनोमिक्स अनुसार, अमेरिकी ट्यारिफले चीन तथा भारत दुवैको अमेरिकी बजारमा हुने ढुवानी ६० प्रतिशतले घटाउन सक्ने सम्भावना छ, जसको असर तिनीहरूको जीडीपीमा लगभग १ प्रतिशत बिन्दु घट्न सक्छ।
ट्रम्प प्रशासनको पछिल्लो निर्णयले भारतको रत्न–आभूषण, कपडा तथा जुत्ता जस्ता श्रम-आधारित निर्यात क्षेत्रमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। विश्लेषक चेतना कुमार र एडम फरारका अनुसार, फार्मास्यूटिकल्स र इलेक्ट्रोनिक्स क्षेत्रमा ट्यारिफ विस्तार भएमा भारतको जीडीपीमा मध्यम अवधिमा १.१% को गिरावट आउन सक्छ।
भारत सरकारले ट्रम्पको निर्णयलाई “अनुचित र अन्यायपूर्ण” भन्दै आलोचना गरेको छ। भारतले प्रश्न उठाएको छ कि जब अन्य देशहरू पनि रुससँग तेल खरिद गरिरहेका छन्, त्यस्तो अवस्थामा भारतलाई मात्र किन निशाना बनाइएको हो।
यसैबीच, कूटनीतिक स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्टको अन्त्यतिर चीन भ्रमणमा जान सक्ने छन् — यो भ्रमण २०१८ पछि पहिलो हुनेछ। यद्यपि भ्रमणबारे आधिकारिक पुष्टि भइसकेको छैन। मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अन्तिम भेट सन् २०२४ को अक्टोबरमा रुसमा भएको थियो।
भारत र चीनबीच दक्षिण एसियामा रणनीतिक प्रभावको लागि प्रतिस्पर्धा जारी रहँदा यस्तो भू-राजनीतिक स्थिति थप जटिल बन्दै गएको छ। भारतलाई अमेरिकी प्रशासनहरूले सधैं चीनको सन्तुलनका रूपमा हेर्दै आएको भए तापनि, वर्तमान परिस्थिति त्यस दिशामा नयाँ मोड ल्याउने संकेत दिन थालेको छ।
