भारतीय सामानमा ट्रम्पको दोब्बर कर, अब कुल ५०% महसुल लागू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यसअघि नै लागू गरिएको २५ प्रतिशत महसुलसहित अब भारतबाट अमेरिका निर्यात हुने सामानमा कुल ५० प्रतिशत महसुल लागू हुने भएको छ।
ट्रम्प प्रशासनको यो कदम भारतले निरन्तर रूपमा रूसबाट तेल आयात गरिरहेकै सन्दर्भमा आएको हो। मंगलबार सीएनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले भारतप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “भारत राम्रो व्यापार साझेदार होइन। उनीहरूले हामीसँग धेरै व्यापार गर्छन्, तर हामीले तिनीहरूसँग त्यति व्यापार गर्दैनौं।”
उनले थप भने, “हामीले अहिले २५ प्रतिशत महसुल थप्यौं, तर मलाई लाग्छ अर्को २४ घण्टाभित्रै म त्यो दर अझै बढाउँछु।”
अमेरिकी प्रशासनको यस निर्णयले दुई देशबीचको व्यापार सम्बन्धमा तनाव सिर्जना गर्ने विश्लेषणकर्ताहरूले बताएका छन्। ट्रम्पले यसअघि पनि चीन र अन्य मुलुकहरू विरुद्ध कठोर व्यापार नीतिहरू अपनाइसकेका छन्।
भारत सरकारले यसबारे औपचारिक प्रतिक्रिया नदिए पनि वाशिङ्टनस्थित कूटनीतिक वृत्तमा यसलाई गम्भीर घटनाक्रमका रूपमा लिइएको छ।
