मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका नेता समेत रहेका लामाले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्।
लामाले २०८१ साउन ९ गते मुख्यमन्त्रीको रुपमा शपथ लिएका थिए। उनले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेपछि आज पदबाट अलग भएको घोषणा गरेका हुन्। उनले आफ्नो राजीनामा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार दिएको बताएका छन्।
प्रदेश सुशासन हलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले आफ्नो कार्यकालमा भएका काम, उपलब्धि र प्रगतिहरूबारे विवरण सार्वजनिक गर्दै आफूले इमान्दारिपूर्वक सेवा गरेको दाबी गरे। तर, उनले सरकार छोड्नुपर्ने बाध्यता आफ्नै दलभित्रको “प्रपञ्च” बाट आएको आरोप लगाए।
उनको यो अभिव्यक्तिलाई नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक शक्ति संघर्षको संकेतका रूपमा हेरिएको छ। लामाको राजीनामापछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।
यस अघि लामाविरुद्ध नेपाली काँग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँसमेतको अगुवाईमा दर्ता भएको सो अविश्वासको प्रस्तावमाथि भएको मतदानबाट बानियाँले २२ मत प्राप्त गरी विजयी भएका थिए । लामाले १४ मत प्राप्त गरेका थिए ।
दलको नेतामा पराजीत भएपछि लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिन चौतर्फी दबाब थियो । काँग्रेस सभापति शेर बहादुर देउवाले समेत लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका थिए । सो निर्देशनपछि लामाले आफू निकटसँग छलफल गरी आज राजीनामा दिएका हुन् ।
