पूर्वी कंगोको क्याथोलिक चर्चमा इस्लामिक स्टेट समर्थित विद्रोहीको आक्रमण: ३४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ श्रावण १२, सोमबार ०७:३०

पूर्वी कङ्गोको इटुरी प्रान्तमा रहेको कोमान्डा सहरको एक क्याथोलिक चर्चमा आइतबार बिहान इस्लामिक स्टेट समर्थित अलाइड डेमोक्रेटिक फोर्स  विद्रोही समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको ज्यान गएको छ। विद्रोहीहरूले बिहान करिब १ बजे चर्चमा आक्रमण गरेपछि स्थानीय बासिन्दामाथि गोली प्रहार साथै घर र पसलहरूमा आगजनी गरे।

घटनास्थलको भिडियोमा जलेका संरचना र चर्चको भुइँमा मृत शरीरहरू देखिएको छ। केही पीडित चिन्न सक्नेहरूले घटनास्थलमै रुँदै गरेका दृश्य देखिएको छ। शवहरूलाई सामूहिक चिहानमा गाड्ने तयारी भइरहेको जानकारी दिइएको छ।

यसअघि नजिकैको माचोङ्गानी गाउँमा पनि एडीएफ सदस्यहरूले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो। स्थानीय नेताहरूका अनुसार विद्रोहीहरूले थुप्रै व्यक्तिहरूलाई झाडी तर्फ लगेका छन्, तर उनीहरूको अवस्था अज्ञात छ।

कङ्गोली सेनाका प्रवक्ता लेफ्टिनेन्ट जुल्स एनगोन्गोले चर्च आक्रमणमा १० जनाको मृत्यु भएको पुष्टि गरे पनि, संयुक्त राष्ट्र समर्थित रेडियो ओकापीले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै मृतक संख्या ४३ पुगेको जनाएको छ।

डुरन्थाबोले आक्रमणको निन्दा गर्दै कोमान्डामा सुरक्षाकर्मीहरूको उपस्थिति हुँदाहुँदै यस्तो नरसंहार हुनु दुखद भएको बताए। उनले तुरुन्त सैन्य हस्तक्षेपको माग गरेका छन्।

एडीएफ, जसले २०१९ मा इस्लामिक स्टेटप्रति वफादारीको घोषणा गरेको थियो, युगान्डा र कङ्गोको सीमावर्ती क्षेत्रमा सक्रिय छ र नागरिक लक्षित आक्रमणहरू गर्दै आएको छ। समूहले यस महिनाको सुरुमा पनि इटुरी क्षेत्रमा दर्जनौं नागरिकको हत्या गरेको थियो, जसलाई संयुक्त राष्ट्रसंघले “रक्तपात” भनेर सम्बोधन गरेको थियो।

एडीएफ को उत्पत्ति १९९० को दशकको उत्तरार्धमा युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीको शासनप्रति असन्तुष्टि जनाउने समूहहरूबाट भएको हो। २००२ मा युगान्डा सेनाको कारबाहीपछि यसले आफ्नो गतिविधि कङ्गोमा सार्यो र त्यसयता हजारौं नागरिक हत्यामा संलग्न रहँदै आएको छ।

यसैबीच, कङ्गो सरकारले एडीएफ सँगै रुवान्डा समर्थित एम23 विद्रोहीहरूलाई पनि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ, तर पछिल्ला घटनाक्रमहरूले सुरक्षा चुनौती अझ गहिरिएको देखिएको छ।