गुणस्तरीय काम नगरेका ८ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेका छन्। सार्वजनिक निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि सरकारी ठेक्काबाट प्रतिबन्ध लगाइएको हो।
वीरगञ्जस्थित जीबी मेटल क्राफ्ट इन्डष्ट्रिजलाई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। बाँकी सातवटा निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो।
लालबन्दी नगरपालिकाको सिफारिसमा धनुषाको एसडी कन्स्ट्रक्सन, राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्को सिफारिसमा शर्मा एन्ड कम्पनी र धुलिखेल निर्माण सेवा, पूर्वाधार विकास निर्देशनालय जाजरकोटको सिफारिसमा भेरी नदी निर्माण सेवा, पूर्वाधार विकास कार्यालय कावासोतीको सिफारिसमा आकांक्षा कन्स्ट्रक्सन, गैढहवा गाउँपालिकाको सिफारिसमा पाल्पाको बिपिन कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको हो।
कालोसूचीमा परेका निर्माण कम्पनीहरूले सम्झौता अनुसारको गुणस्तरीय काम नगरेको, ढिलाइ गरेको वा अन्य प्राविधिक लापरबाही गरेको पाइएपछि सार्वजनिक निकायले सिफारिस गरेका हुन्।
शर्मा कन्स्ट्रक्सन रमेश शर्मा नेतृत्वको कम्पनी हो जसले वीर अस्पतालको सर्जिकल ब्लक, मदन भण्डारी राजमार्गको १३५ किलोमिटर खण्ड, महान्यायाधिवक्ता कार्यालय, नागरिक लगानी कोष, राहदानी विभागलगायतका ठूला संरचना निर्माण गरिसकेको छ।
सार्वजनिक खरिद ऐन अनुसार कालोसूचीमा परेका कम्पनीहरू तोकिएको अवधि पूरा नभएसम्म कुनै पनि नयाँ सरकारी ठेक्कामा सहभागी हुन पाउने छैनन्।



