अमुर क्षेत्रमा रुसी विमान दुर्घटना: ५० जनाको मृत्युको आशंका

तु खबर संवाददाता
२०८२ श्रावण ८, बिहीबार १३:२६

पूर्वी रुसको अमुर क्षेत्रमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ। बिहीबार भएको दुर्घटनामा ६ चालक दलका सदस्यसहित ४९ जना यात्रु सवार थिए। रुसी समाचार एजेन्सी टी ए एस एसका अनुसार विमानमा रहेका सबै व्यक्तिहरूको ज्यान गएको अनुमान गरिएको छ।

दुर्घटनाग्रस्त विमान अंगारा एयरलाइन्सद्वारा सञ्चालित थियो र साइबेरियाको टाइन्डा सहरतर्फ जाँदै गर्दा राडार स्क्रिनबाट हराएको थियो। टाइन्डा चीनसँग सीमा जोडिएको अमुर क्षेत्रमा पर्छ।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभले प्रारम्भिक जानकारी दिँदै पाँच बालबालिका र ४३ यात्रुका साथै ६ जना चालक दल विमानमा सवार रहेको जनाएका छन्।

रुसको आपतकालीन मन्त्रालयका अनुसार उद्धारका लागि परिचालित एमआई-८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष फेला पारेको छ। “रोसाभियात्सिया” (रुसी नागरिक उड्डयन प्राधिकरण) को सहकार्यमा गरिएको खोजीमा उक्त जानकारी आएको हो।

रुसी सञ्चार माध्यमका अनुसार अवतरणको क्रममा खराब दृश्यता र चालक दलको सम्भावित त्रुटि दुर्घटनाको प्रमुख कारण मानिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

यस दुर्घटनाले रुसी उड्डयन सुरक्षा प्रणाली र मौसममा आधारित जोखिम व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ।