एनआरएनले नागरिकताको आधारमा नेपाली पूँजीबजारमा लगानी गर्न पाउने

तु खबर संवाददाता
२०८२ श्रावण ६, मंगलवार १९:०८

काठमाडौँ । अब गैर आवासीय नेपाली (एनआरएन) हरूले नेपाली सेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्ने बाटो खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नागरिकता प्रमाणका आधारमा उनीहरूलाई सेयर कारोबार गर्न दिने कानुनी तथा प्राविधिक पूर्वाधार तयार पार्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले यो व्यवस्था ल्याउने तयारी गरेको जनाएको हो ।

गैर आवासीय नागरिकलाई नेपालको राजनीतिबाहेकका आर्थिक लगायतका अन्य अधिकार दिने व्यवस्था छ । सो व्यवस्था अनुसार नेपाली शेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्ने व्यवस्था गर्न लागिएको हो ।

उसो त गैर आवासीय नागरिकता प्राप्त गरेका नेपालीले धेरै विषयमा कानूनी उल्झनहरु झेल्दै आएका छन् । उनीहरुले नेपाली कानुनमा समयानुकूल संसोधन हुनु पर्ने धारणा राख्दै आएका छन् ।