स्वास्थ्य बीमा नविकरण थप सहज बन्दै, नयाँ कार्यविधि लागू

तु खबर संवाददाता
२०८२ श्रावण ६, मंगलवार १४:१९

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ । ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ अनुसार अबदेखि नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यले छुट पाउनेछन् भने ढिलाइ गर्नेले जरिवाना तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

बोर्डले लागू गरेको कार्यविधि अनुसार नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यहरूलाई सेवा लिँदा तिर्नुपर्ने सह–भुक्तानी रकममा आकर्षक छुटको व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले बीमितहरु न्विकरणमा तदारुकता देखाएर सहजै बीमालेख नविकरण गर्ने संस्थाले विश्वास लिएको छ ।

३ वर्षसम्म नियमित नवीकरण गर्नेलाई १० प्रतिशत छुट, ४ देखि ७ वर्षसम्म नियमित नवीकरण गर्नेलाई २० प्रतिशत छुट,७ वर्षभन्दा बढी नियमित नवीकरण गर्नेलाई ३० प्रतिशत छुट गरिएको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ उल्लेख छ ।

यस्तै, बीमालेखको म्याद सकिएपछि नवीकरण गर्नेका लागि भने जरिवानाको व्यवस्था गरिएको छ । जसले गर्दा अब म्याद गुजारेर नवीकरण गर्दा निकै महँगो पर्ने देखिएको छ ।

म्याद सकिएको ३ महिनाभित्रः योगदान रकममा १० प्रतिशत थप शुल्क लाग्नेछ । यस्तै, म्याद सकिएको ६ महिनाभित्र ३० प्रतिशत थप शुल्क लाग्नेछ । साथै, बोर्डले बीमालेखको म्याद सकिनुभन्दा एक महिनाअघि नै नागरिकलाई सूचना दिने कार्यविधिमा उल्लेख गरिएको छ ।