बीमा क्षेत्रको व्यवसायिक नियमन गर्न नयाँ अध्यक्ष पोखरेलको निर्देशन

तु खबर संवाददाता
२०८२ असार ३२, बुधबार ११:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्को व्यवस्था नहुँदासम्मका लागि अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

नेपाल बीमा प्राधिकरणमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेतृत्व परिवर्त हुने वित्तिक्कै कर्मचारीहरुले डराउने अवस्था हुदैन् । कर्मचारीको काम कारबाहीले मात्र बीमा क्षेत्रको पारदर्शीता बढाउन सकिन्छ । त्यसैले उत्कृष्ट कार्य गनुहोस् । मेरो र अर्थमन्त्रालयबाट आवश्यक गर्नुपर्ने काम म गर्छु ।’

‘हामी भन्दा नीजि क्षेत्र धेरै अगाडी गएको छ । उनीहरुसँग प्रतिस्पर्धा गर्नको लागि पनि हामीहरुले बलियो हुनुपर्दछ । आफुलाई नियमन निकायका रुपले प्रस्तुत गर्नुस् ।’ उनले भने, ‘कर्मचारीहरुबीचको सम्बन्ध समधुर बनाएर अघि बढ्नु होला । ग्रुप बनाएर एक अर्काका कुरा नकाटी ३७ वटा कम्पनीको काम कारबाही गर्दा सक्षम रुपले गर्नुहोस् । नियामकको रुपले उभिन्नुस् ।’

‘बीमा क्षेत्रलाई थप पारदर्शीता, सहज र सरल बनाउनु बीमा प्राधिकरणको जिम्मेवारी रहेको छ । बीमा नियमावलीको पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्छ ।’ उनले भने । अध्यक्ष पोखरेलले बीमा नियमनको लागि सम्पूर्ण कम्पनीहरुको अनुगमनलाई प्रभावकारी बनाउने कुरामा जोड दिएका छन् । उनले नेपाल राष्ट्र बैंकको प्रभावकारी अनुगमनको उदाहरण दिदै बीमा कम्पनीको अनुगमनलाई तीब्रता दिएर बीमा क्षेत्रलाई सुदृढ बनाउने उद्देश्य रहेको बताए ।