आइतबार सार्वजनिक हुनेछ काठमाडौं महानगरपालिकाको बजेट
काठमाडौं । चरम विवादका कारणले हालसम्म पनि सार्वजनिक हुन नसकेको काठमाडौं महानगरपालिकाको आगामी बर्ष २०८२र ८३ को बजेट आइतबार सार्वजनिक हुने भएको छ । नगर प्रमुख बालेन शाहले आइतबार दिउँसो २ बजे नगरसभा बस्ने जानकारी दिएका छन् । त्यसअघि कार्यपालिका बस्ने उनको तयारी छ ।
आज शुक्रबार बसेको ४० औँ कार्यपालिकाको बैठकमा प्रमुख शाहले सो प्रस्ताव गरेका हुन् । आगामी वर्षको निम्ति २५ अर्ब ११ करोडको सिमा निर्धारण गरिएको छ र सोही अनुसार बजेट सार्वजनिक गर्ने तयारी महानगरको छ ।
प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर महिनौँ कार्यपालिकाको बैठक बस्न सकेको छैन भने विकास निर्माण लगायतका काम प्रभावित भएको छ । सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुख शाहले स्वीकार नगर्ने र सरकारले अर्को प्रमुख प्रशासकीय अधिकृत नखटाउने भएपछि काठमाडौं महानगरपालिकाको विवाद जस्तको तस्तै छ ।
उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइएपछि रुष्ट बनेका शाह कार्यालय नै नआउने र बैठक नै नगर्ने स्थिति बनेको हो । लामो समयपछि प्रमुख शाह बैठक राख्न तयार देखिएपछि कार्यपालिका बैठक भएको हो । असारभित्र बजेट पास नभए महानगरका सबै गतिविधि नै ठप्प हुने स्थिति आउनेछ ।
