भारतमा बन्धक बनाइएका ३५ नेपालीको दुतावासद्वारा उद्धार

तु खबर संवाददाता
२०८२ असार ७, शनिबार २१:००

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभन दिई भारतमा बन्धक बनाइएका ३५ जना नेपालीलाई दिल्लीमा रहेको नेपाली दुतावासले उद्धार गरेको छ ।

भारतको उत्तराखण्डको काशीपुर पुर्याइएका ती नेपालीहरुलाई दुतावासले स्थानीय प्रहरीको मद्दत लिई उद्धार गरेको नेपाली दुतावास नयाँ दिल्लीले जानकारी दिएको छ ।
उत्तराखण्ड प्रहरी र केआइएन भारतको सहयोगमा उनीहरुको उद्धार गरिएको हो, नेपाली दुतावासद्वारा आज शनिबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम अशुल गरेको भन्ने सूचना दुतावासमा आएपछि नेपालस्थित परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम भारतीय प्रहरीसँगको समन्वयनमा ती युवाहरुको उद्धार गरिएको दुतावासले जनाएको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको दुतावासले जानकारी दिएको छ ।