आईएमई पे र खल्ती एकै प्लेटफर्ममा
काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा खल्ती र आइएमई पे एक हुने भएका छन् । नेपाल राष्ट्र बैंकले पहिलोपटक दुई ठूला भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्तीलाई एउटै बनाउन स्वीकृति प्रदान गरेको हो । यो निर्णयसँगै दुई ठूला डिजिटल भुक्तानी प्रणाली एक हुने छन् ।
नेपाल राष्ट्र बैंकबाट आवश्यक नियामक प्रक्रिया पूरा भएपछि यी दुई कम्पनीले संयुक्त रुपमा सेवा प्रदान गर्ने छन् । ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा दुबै भुक्तानी प्रणालीले सेवा दिने भएका हुन् । एपको नाम भने खल्ती हुनेछ ।
यो एकीकरणसँगै खल्ती एप नेपालको सबैभन्दा ठूलो डिजिटल भुक्तानी प्रणाली हुनेछ भने यसको विस्तारमा पनि थप पहुँच विश्वास कम्पनीको छ ।
राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी तीन महिनासम्म प्रयोगकर्ता समायोजन प्रक्रिया तीव्र गतिमा अघि बढाइनेछ। यस अवधिमा आईएमई पे र खल्ती दुवै एप यथावत सञ्चालनमा रहने छन्।



