हेटौंडा–१ का अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.– १ का अध्यक्ष एवम् प्रवक्ता सबिन न्यौपानेमाथि आज बुधबार कार्यकक्षमै आक्रमण भएको छ । कार्यकक्षमा बसिरहेका उनीमाथि आक्रमण भएको र कालो पदार्थ समेत जीउमा फालिएको प्रहरीले जनाएको छ ।
चार जनाले न्यौपानेमाथि आक्रमण गरेको देखिएको र घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले तु खबरलाई जानकारी दिए ।
नगर उपप्रमुख राजेश बानियाँले घटना सुनियोजित भएको र गम्भीर भएको प्रतिक्रिया दिए ।
सुरक्षा व्यवस्था निकै फितलो भयो, जनप्रतिनिधिहरु त्रसित छन्– बानियाँले भने । उनका अनुसार, घटनामा संलग्न भएकाहरुको खोजी तीव्र बनाउन र कारवाही गर्न स्थानीय प्रशासन र प्रहरीलाई अनुरोध गरिएको छ ।
बानियाँले सो घटनाको कडा शब्दमा निन्दा गर्दै सुरक्षाको प्रत्याभूति दिन प्रशासनसँग आग्रह समेत गरेका छन् । अहिलेसम्म दोषी पक्राउ गर्न प्रहरीले सकेको छैन, यसले झन् चिन्तित बनाएको छ– बानियाँले भने ।
हेटौंडा उपमहानगरपालिकाले एक विज्ञप्ती प्रकासन गर्दै न्यौपानेमाथि भएको आक्रमणको निन्दा गरेको छ । न्यौपानेको साथबाट २ थान मोबाइल समेत लुटेर लगिएको भन्दै उपमहानगरपालिकाले ज्यानै लिने उद्धेश्य राखी आक्रमण भएको जनाएको छ ।