नवसर्जकको बढ्दो पाइला


साहित्यको क्षेत्रमा मकवानपुरमा केही नयाँ प्रयोगहरुमध्ये पछिल्लो चरणमा जोडिएको छ : नवसर्जक । यो एउटा अभियानको रुपमा अगाडि बढिरहेको छ । मकवानपुरमा साहित्यको विकासमा चलाइएको यो अभियान मकवानपुरमा मात्र सीमित छैन । अहिले यो विस्तारै सात वटै प्रदेशमा नवसर्जकको शाखा विस्तार भइसकेको छ र विदेशमा पनि यसको शाखा गठन गर्ने तयारी भइरहेको छ ।
मकवानपुरका साहित्यकार दीपक गौतमको परिकल्पना हो, नवसर्जक । नवसर्जक साहित्य चौतारी नेपाल नाममा यो संस्थाको रुपमा गठन पनि भएको छ । दर्ता पनि भएको छ । अनि हरेक महिना यसले इन्टरनेटका डिभाइसमार्फत धेरै ठाउँका मानिसलाई जोड्ने गर्दछ । साहित्यले मानिसलाई जोड्ने काम पनि गर्दछ भन्ने कुरो नवसर्जकको कार्यक्रमबाट प्रमाणित हुन्छ । हरेक महिना नवसर्जकले कार्यक्रम गर्दै आएको छ जसमा देशभित्रबाट र विदेशबाट पनि धेरै जना सहभागी हुन्छन् । अनि विस्तारै प्रदेशस्तरमा गठित शाखाहरुले पनि कार्यक्रम गर्न थालेका छन् । अनलाइन कार्यक्रमका साथै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुन थालेका छन् । भौतिक उपस्थितिमा पनि कार्यक्रमलाई निरन्तरता दिने काम भइरहेको छ । विभिन्न ठाउँमा तालिम र प्रशिक्षण दिने अर्थात बालबालिकालाई बोलाएर कविता कसरी सिर्जना गर्ने, कसरी परिष्कार गर्ने र कहाँ प्रकाशित गर्ने भन्ने विषयलाई प्राथमिकता दिइएको हुन्छ । मुख्य रुपमा विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत नवयुवालाई केन्द्रित गरी यसले कार्यक्रम संचालन गर्ने गर्दछ । पच्चीस वर्षभन्दा कम उमेरसम्मका युवाहरुलाई यसले समेट्दछ । हुन त सिर्जनाको उमेर हुँदैन तर मानिसको उमेर हुन्छ र नाम नै नवसर्जक राखिएको अवस्थामा उमेरको दृष्टिकोणले पच्चीस वर्ष तोकिएको हुनुपर्छ ।
नवसर्जकले मधेश प्रदेशमा अर्को एउटा काम पनि थालेको छ । साहित्यलाई अखबारसित नाता जोडेको छ आफ्नै नाउँमा । स्थानीयपोस्ट नामक साप्ताहिक अखबारमा एउटा अभियानकै रुपमा एक पृष्ठ साहित्य दिन थालेको छ । यो एउटा अभियान नै हो भन्दा पनि हुन्छ । मैले जसरी हेटौँडाको कुराकानी साप्ताहिकमा हरेक हप्ता एक पृष्ठ साहित्य शृंखला चलाएको थिएँ, करिब अढाई सय अंकसम्म । अहिले नवसर्जकको मधेश प्रदेश अध्यक्ष अभिजित रामले गरिरहेका छन् संयोजन । यहाँ एउटा संयोग यो पनि रहेको छ कि स्थानीयपोस्ट साप्ताहिकका प्रकाशक–सम्पादकलाई औपचारिक कार्यक्रममा नै आग्रह गरेको थिएँ । अनुज भएका र मेरै सल्लाहमा अखबार निकालेकाले सहजरुपमा पत्रिकामा नवसर्जकले स्थान प्राप्त गरेको छ । नवसर्जकको मधेश प्रदेशको संरक्षकको नाताले मैले प्रदेश अध्यक्षलाई दिएको सल्लाह वा निर्देशनलाई लागू गरिएको हो । मधेश प्रदेश एउटा उदाहरण मात्र हो । अन्यत्र पनि यस्ता कार्यक्रम र प्रयासहरु भएको हुनुपर्छ ।
नवसर्जकले हरेक वर्ष वार्षिकोत्सव मनाउँछ हेटौँडामा । वार्षिकोत्सवमा हेटौँडा वा मकवानपुरका सर्जकहरुको सहभागिता त हुन्छ नै, सात प्रदेशकै सहभागिता गराउने प्रयास हुन्छ । कार्यक्रममा नवीनता दिने प्रयास हुन्छ । सबैभन्दा महत्वपूर्ण विशिष्टता त यो रहेको हुन्छ कि नवसर्जक साहित्यकारको एउटा मेला हुन्छ । विभिन्न कार्यक्रमहरु भव्यतापूर्वक सम्पन्न हुन्छ र चिनजानको दृष्टिकोणले यो निकै महत्वपूर्ण हुन्छ । नवसर्जकले देशका चर्चित साहित्यकारका रचनाहरु श्रवण गर्न पाउँछन् र नवसर्जकका रचनात्मक रुचिलाई विशिष्ट साहित्यकारहरुले पनि बुझ्न र सुन्न पाउँछन् । नवसर्जकले अवसर जुटाउने वा नवसर्जकलाई अवसर जुटाउने काम पनि नवसर्जकले गर्ने गरेको छ । अवसरको कुरो त सबैको लागि महत्वपूर्ण हुन्छ । जहाँ सबै वर्ग र उमेरका साहित्यकारहरुको सहभागितामा नवसर्जकप्रति सहानुभूति हुन्छ त्यहाँको माहोल कति राम्रो हुन्छ भन्ने कुरा पनि सर्जकहरुले बुझ्न पाउँछन् । एउटा रमाइलो अवसरको सिर्जना भएको हुन्छ, नवसर्जकको वार्षिक कार्यक्रममा । नवसर्जकको लागि रमाइलो अवसर हुनु आफैँमा गौरवको क्षण हुन्छ ।
अन्यथा अर्थ नलागोस्, नवसर्जकले निकै राम्रो गरिरहेको छ र भविष्यमा साहित्यको नेतृत्व लिने सम्भावना पनि देखाएको छ । यस अर्थमा कि नवसर्जकको प्रशिक्षणात्मक कार्यक्रममा सहभागी भएर कतिपय नयाँ पुस्ताले पुस्तकहरु निकालेर देशमै चर्चा कमाइसकेका छन् । नवसर्जकहरु विभिन्न विधामा साहित्य सिर्जना गरिरहेका छन् र देश तथा विदेशमा प्रतियोगितामा पुरस्कृत हुनुका साथै सम्मानित पत्रपत्रिकामा स्थान पाइरहेका छन् । सामाजिक सञ्जालमा पनि नवसर्जकको साहित्यिक हस्तक्षेप देखिएको छ ।
नवसर्जकले पुरस्कारको स्थापना गरेको छ । अक्षयकोष निर्माणको अभियान चलाएको छ । पत्रिका प्रकाशन गरेको छ, यद्यपि वार्षिक नै सही । नवसर्जक हो, अलिकति विस्तारै सक्षम हुँदै गएपछि यसले अझ केही नयाँ कामहरु गर्ला भन्ने विश्वासका आधारहरु तयार पारेको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडालाई नै देशको साहित्यको राजधानी बनाउन नवसर्जक साहित्य चौतारी नेपालले पनि भूमिका खेलिरहेको छ । अहिले देशको अन्य कुनै पनि सहर नहोला, हेटौँडामा जनि साहित्यिक कार्यक्रम भइरहोस् । हरेक हप्ता कार्यक्रम अनिवार्य हुन्छ नै, कुनै महिनामा मकवानपुरमा दर्जनको हाराहारीमा साहित्यिक कार्यक्रम हुन पुग्छन् । कार्यक्रमका लागि मात्र कार्यक्रम होइन, अपितु वर्षमा दर्जनौँ उत्सव र महोत्सवहरुको आयोजन गरिरहेको छ हेटौँडाले । साहित्यमार्फत धेरै मानिसलाई जोड्न सफल भएको छ । विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुलाई साहित्यिक पुरस्कार स्थापनाको लागि प्रोत्साहित गरेको छ, स्थापना पनि गरेको छ ।
साहित्यिक व्यक्तित्व भए पनि र नभए पनि दर्जनौँले साहित्यिक पुरस्कारको स्थापना गरेका छन् । हरेक वर्ष मकवानपुरमा पचासभन्दा बढी व्यक्तित्व साहित्यिक पुरस्कार र सम्मानले सम्मानित हुन्छन्, पुरस्कृत हुन्छन् । यसले साहित्यको वातावरण बन्न बनाउन तथा साहित्यप्रति सकारात्मक भावनाको विकास गराउन निकै सजिलो भइरहेको छ । मकवानपुरमा भइरहेको साहित्यिक प्रयासमा नवसर्जक एउटा दरिलो सहयात्री बन्न पुगेको छ । मकवानपुरलाई भित्रबाट र बाहिरबाट पनि साहित्यको केन्द्र (राजधानी) बनाउने दिशामा नवसर्जकहरुले पनि योगदान गरिरहेका छन् । देशका सयौँ नवसर्जकको साहित्यिक आस्थाको तीर्थ पनि हेटौँडा बन्न पुगेको छ, बन्दै छ । भविष्यको साहित्येतिहासमा नवसर्जकले पनि दर्विलो र गर्विलो आकार लिनेमा विश्वास गर्न सकिन्छ ।