उपभोक्ता ऐन उल्लंघन गर्ने व्यवसायहरूमा जरिवाना र कारबाही

तु खबर संवाददाता
२०८२ बैशाख १९,शुक्रबार ०६:०९

काठमाडौं । उपभोक्ताको हित र बजारमा अनुशासन कायम गर्नका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विभिन्न उद्योग र फर्महरूको अनुगमन गरेको छ। विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाबाट गरिएको निरीक्षणमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ उल्लंघन गरेका फर्महरूलाई जरिवाना र निर्देशनसहित कारबाही गरिएको छ।

अनुगमनमा सन इन्टरनेशनल इनकर्पोरेट प्रा. लि. (काठमाडौं-२७) लाई रु. १ लाख जरिवाना गरिएको छ। यस्तै, नबिना सप्लायर्स (ललितपुर-१३) लाई रु. २० हजार जरिवाना गरिएको छ।

नेपाल सरकारले प्रतिबन्ध लगाएको ई-सिगरेट (भेप) बिक्री वितरण गरेको पाइएपछि स्माइल योर च्वाइस (काठमाडौं-२२) र भेपमाण्डु ट्रेडर्स (काठमाडौं-२२) को गोदाम र बिक्री कक्ष शिलबन्दी गरिएको छ। साथै, सम्बन्धित व्यवसायका कागजातसहित ती फर्मलाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै, फाल्कोन इलेक्ट्रोनिक्स प्रा. लि. (काठमाडौं-३२) लाई उपभोक्ता संरक्षण ऐनबमोजिम बिक्रेताले पालना गर्नुपर्ने दायित्व पूरा गर्न निर्देशन दिइएको छ। स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. (काठमाडौं-३०) र मिठो थकाली रेस्टुरेण्ट एण्ड बार प्रा. लि. (ललितपुर-०३) लाई तीन दिनभित्र विभागमा व्यवसाय सम्बन्धी सबै कागजात लिएर उपस्थित हुन भनिएको छ।

दफाबमोजिम हेर्दा, कारबाहीमा परेका केही फर्महरूले ऐनको दफा ३८(ट) र ३८(ड) अनुसार उपभोक्तालाई धोका दिने कार्य गरेका छन् भने सोही ऐनको दफा ३९(१)(घ) र ३९(१)(ङ) बमोजिम जरिवाना र कारबाही गरिएको जनाइएको छ।