शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

तु खबर संवाददाता
२०८२ बैशाख १७,बुधबार २१:३३

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ र यो सहमतिसँगै जारी शिक्षक आन्दोलन समेत स्थगित भएको छ
शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबीच सहमति विभिन्न बुँदाहरुमा सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित भएको हो ।

सहमति भएका बुँदाहरु मन्त्रिपरिषद्बाट पारित भएको मन्त्री रघुजी पन्तले संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिए ।

सात बुदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेको हो । त्यसका लागि शिक्षामन्त्री पन्तले निर्तमान शिक्षामन्त्री विद्या भट्टराईलाई धन्यवाद दिए ।

सहमति कार्यान्वयन भएमा शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने सहमति भएको छ । त्यस्तै अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त हुने व्यवस्था गरिने सहमति भएको छ ।

सहमति अनुसार, प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गरिने छ भने निजामतिसरह ग्रेढ संख्या र रकम कायम गर्ने पनि सहमति भएको छ । सबै शिक्षकहरुलाई दूर्गम भत्ताको व्यवस्था हुने र सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नियमावलीमा आवश्यक व्यवस्था समेत गरिने भएको छ ।

शिक्षकहरुको माग अनुसार, उनीहरुको मर्यादाक्रम तोकिने सहमति पनि भएको छ । आन्दोलनका क्रममा घाइते भएका सबैको सरकारी अस्पतालमा निशुल्क उपचार व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

महासंघले आफ्ना मागहरु पूरा नगरी व्यवस्था गरेमा पुनः कडा आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने उल्लेख छ ।