राष्ट्रिय हितका लागि नेपाल–कोरिया सम्बन्धलाई सुदृढ बढाउँछौंः राजदूत तुम्बाहाङ्फे

तु खबर संवाददाता
२०८१ फाल्गुन १८, आईतवार १५:२८

सियोल । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखी नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउने बताएकी छिन्।

शनिबार गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाद्वारा सियोलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखी नेपालमा रहेका लगानीका क्षेत्रहरूमा लगानीकर्तालाई आकर्षित गर्न पहल गर्ने उल्लेख गरिन्।

राजदूत तुम्बाहाङ्फेले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरीय भ्रमण आदान–प्रदान आवश्यक रहेको बताइन्।

दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कोरियामा कार्यरत नेपाली कामदारहरूले दुई देशबीच जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्नुका साथै कोरियाली अर्थतन्त्रमा समेत योगदान पुऱ्याइरहेको उल्लेख गरिन्।

राजदूत तुम्बाहाङ्फेले कोरियास्थित नेपाली राजदूतावासमा सबै नेपालीको पहुँच वृद्धि गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्। साथै, सबै नेपालीलाई निर्धक्क भएर राजदूतावासको सेवा लिन सक्ने वातावरण बनाइने बताइन्।

उनले सबै नेपालीलाई वैधानिक रेमिटेन्सको दायरामा ल्याउने, गैरआवासीय नेपाली संघ कोरियाको विवाद समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने तथा  दूतावासलाई प्रवासीसँग प्रत्यक्ष जोड्ने प्रतिबद्धता जनाएकी छिन्।

राजदूत तुम्बाहाम्फेले कोरियामा रहेका नेपालीको समस्या समाधानका लागि आफूले अभिभाकीय भूमिका खेल्ने समेत बताइन्।

श्रम काउन्सुलर मैया कँडेलले नेपाली श्रमिकहरूको सुरक्षाका लागि दूतावासले आवश्यक सहयोग तथा परामर्श निरन्तर उपलब्ध गराउने उल्लेख गरिन् ।

एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरू बुद्धिप्रसाद नेपाल, हर्कमान गुरुङ, दीपक पुन, कोरियाका उपाध्यक्ष सुनिल लिम्बु, हरिप्रसाद भट्टराई लगायतले कोरियामा रहेका नेपालीहरूको विषयमा चासो व्यक्त गरेका थिए। साथै, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू र  राजदूतबीच अन्तरक्रिया भएको थियो ।